राष्ट्रपतिलाई हटाउँदैनौँ, ओलीसँग सहकार्य गर्दैनौँ – प्रचण्ड

राष्ट्रपतिलाई हटाउँदैनौँ, ओलीसँग सहकार्य गर्दैनौँ – प्रचण्ड

काठमाण्डौं । नेकपाको प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नहटाउने बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले राष्ट्रपति भण्डारीलाई हटाउने विषयमा नसोचिएको खुलाएका हुन् ।

‘राष्ट्रपतिलाई‘ब्ल्याकमेलिङ गर्ने काम केपी ओलीले गर्नुभएको हो । हामीले उहाँलाई हटाउनेतर्फ सोचेका छैनौँ,’ प्रचण्डले भने । उनले प्रधानमन्त्री ओलीसँग पार्टी एकता नहुने कुरा पनि प्रस्ट पारेका छन् । ‘प्रधानमन्त्रीले विघटनकारी काम गर्दै घात गरेका हुनाले उहाँसँगको सहकार्य अब सम्भव छैन,’ प्रचण्डले भने ।

सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको प्रतिक्रिया उनले दिएका छन् । अब राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार बनाउनेतर्फ राजनीति केन्द्रित हुने संकेत उनको छ । ‘प्रधानमन्त्री मेरो प्राथामिकतामा छैन । हाम्रो आन्दोलन प्रधानमन्त्रीका निम्ति थिएन । राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार छनोट गर्नेमा लाग्नेछौँ,’ प्रचण्डले बताए ।

राष्ट्रिय सहमतिमा प्रधानमन्त्री छनोट गर्ने सन्दर्भमा बुधबारबाट कांग्रेस र जसपासँग संवादको थालनी हुने उनको भनाइ छ । यो विषयमा ओलीसँग पनि छलफल हुन सक्ने उनले बताए । ‘केपी ओलीजीको छुट्टै पार्टी छ । पार्टी प्रमुखका हैसितामा उहाँसँगको संवादलाई निषेध गर्ने भन्ने संकीर्णता र यान्त्रिक विचार मेरो छैन,’ उनले भने । भरतपुरबाट फर्किएलगत्तै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल सुरु गर्ने प्रचण्डको भनाइ छ ।



ट्रेन्डिङ