स्पन्दन नेपालले पहाडी क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा बाड्यो

स्पन्दन नेपालले पहाडी क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा बाड्यो

चितवन । महिलाहरुले सञ्चालन गरेको संस्था भरतपुरको स्पन्दन नेपालले मंगलबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने सिद्धिको देउजरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण गरेको छ ।

स्पन्दनले चार वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा दिदै आएको छ । संस्थाका उपाध्यक्ष गोमा भट्टराई र कोषाध्यक्ष मन्जु पाठकले संयुक्त शुभकामना मन्तब्य राख्दै कार्यक्रम सुरु गरिएको थियो ।कक्षा पाँचसम्म पढाइ हुने देउजरको राष्ट्रिय आधारभूत विद्यालयका ५८ जना विद्यार्थीलाई स्पन्दनले न्यानो कपडा स्वीटर र उनको टोपी वितरण गरेको हो । स्पन्दन नेपालका अध्यक्ष इन्दिरा भुषालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह चेपाङ कार्यक्रमका प्रमुख अतिथि थिए । उनले सहरी र सुविधायुक्त ठाउँबाट निकै पर रहेको देउजरमा आएको यो सहयोग निकै महत्वपुर्ण भएको बताए ।

विद्यालयमा ३१ बालक र २७ बालिका भर्ना भएर पढ्न आउने गर्दछन् । सबै बालबालिका चेपाङ समुदायका हुन् । अभिभावकको आर्थिक अवस्था खासै राम्रो नहुँदा जाडोेयाममा पनि सामान्य कपडा लगाएर विद्यालय आउँछन् । ‘शरिरमा सामान्य लुगा हुन्छ । पढ्न त बस्छन तर जाडोेले सिउसिउ गरेको सुनिन्छ । धेरै जाडो बढे विद्यालय नै आउँदैनन् । त्यसैले यो सहयोग सानो हैन ठुलो हो’ विद्यालयका प्रअ जमुना कोइरालाले भनिन् । कार्यक्रम को लागि चाहिने आवश्यक खर्च संस्थाका निबर्तमान अध्यक्ष बिमला दाहाल , शुभचिन्तक ईश्वर शर्मा, सबिना शर्मा सुरज मरहट्ठा , राम प्रसाद पौडेल र कार्यक्रम अनिता खनालले सहयोग गरेका हुन् ।

स्पन्दन नेपालको न्यानो कपडा वितरण कार्यक्रमका संयोजक अनिता खनालले संस्थाले यसअघि सिद्धिकै रन्तेस र माडीमा यस्तो कार्यक्रम गरेको र सोधखोज गर्दा देउजरमा न्यानो कपडा अत्यावश्यक भएको थाहा पाएका कारण यो पटक यहाँ आएको बताइन् । उनले कार्यक्रमका लागि स्वीटर, टोपी, औषधि, स्टेशनरी किन्दा र अन्य खर्चसमेत गरेर ५० हजार रुपैयाँको हाराहारीमा खर्च भएको बताइन् ।



ट्रेन्डिङ