डलर देखाएर लुटपाट गर्ने दुईजना पक्राउ

डलर देखाएर लुटपाट गर्ने दुईजना पक्राउ

काठमाण्डौं, १४ असोज । प्रहरीले भक्तपुरबाट डलर देखाएर लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सीसीको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एकजनालाई डलर साट्ने बहानामा बाँकी लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुईजनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए । गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैठौँ घटना हो ।

सस्तो दरमा डलर साट्ने बहानामा गएको साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा न–५ मा साउन १९ गते चार लाख, वडा–२ मा गत भदौ ३१ गते पाँच लाख, वडा–९ बोडेमा यही असोज ६ गते नौ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ