अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघ्यो

काठमाण्डौं, ७ असोज । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा २ लाख नाघ्नु भयावह भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको आरोप लगाए । चीनले भने ट्रम्पको आरोपको कडा प्रतिवाद गरेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६८ लाखभन्दा बढी पुगेको छ । अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो ।

नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे । गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले ‘राम्रो काम गरेको हुने’ बताएका थिए ।

गत फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङ्ख्या शून्य हुने बताएका थिए । अमेरिकामा जनवरीमा पहिलो सङ्क्रमित फेला परेका थिए । त्यसयता कोरोना रोकथाम र नियन्त्रणका लागि ट्रम्प प्रशासनले चालेको कदमको सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ । आगामी नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले कोरोना भाइरस नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन् ।

उनले भने, ‘डोनल्ड ट्रम्पको झुट र विगत ६ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन् ।’ ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध कडा प्रहार गरेका छन् । पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनले विश्वमा कोरोना भाइरस फैलाएको आरोप लगाएका छन् ।

चीनले भने त्यसप्रति कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजार पटक झुट बोले पनि त्यो झुट नै हुने बताए। सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरेका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको समेत आरोप लगाएका छन् । विश्व स्वास्थ्य संगठनले ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ ।



ट्रेन्डिङ