सत्तारुढ पार्टी भित्रको आन्तरिक किचलो कहिले सकिएला ?

सत्तारुढ पार्टी भित्रको आन्तरिक किचलो कहिले सकिएला ?

काठमाण्डौं, २६ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रको आन्तरिक विवाद अझै टुगिएको छैन । पार्टीभित्र शिर्षनेताहरुको रस्साकस्सी अझै जारी छ । निकै समयपछि आज बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बस्यो । विहान ११ बजेदेखि सुरुभएको बैठकमा दिनभर स्थायी कमिटीका सदस्यहरु बीच छलफल चल्यो ।

झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको थियो । अर्का अध्यक्ष प्रचण्डलाई छलफल अघि बढाउन आग्रह गर्दै ओली बैठककक्षबाट बाहिरिएको बालुवाटार स्रोतले बतायो । स्थायी कमिटीमा अध्यक्षद्वयले पेस गरेको प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड–माधव नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेपछि १३ साउनमा स्थगित बैठक बस्न सकेको थिएन । पार्टीभित्रका विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन ६ सदस्यीय कार्यदलले ६ भदौमा प्रतिवेदन बुझायो । त्यसैका आधारमा अध्यक्षद्वय ओली र प्रचण्ड समझदारीमा आएका छन् । अध्यक्षद्वयले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै सम्भवतः शुक्रबारै स्थायी कमिटी बैठक सम्पन्न हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

स्थायी कमिटीका सदस्यलाई पठाइएको प्रस्तावमा पार्टी एकताको महत्त्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, प्रस्तावको तीन नम्बर बुँदामा पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेकाले अध्यक्षद्वयको कार्यविभाजनलाई थप स्पष्ट पारिएको छ । प्रस्तावमा पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने उल्लेख गरिएको छ ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने,’ प्रस्तावमा उल्लेख गरिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने । अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने ।’



ट्रेन्डिङ