जितिया पर्वको अवसरमा छात्रवृत्ति कोष स्थापना

जितिया पर्वको अवसरमा छात्रवृत्ति कोष स्थापना


चितवन, २५ भाद्र । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । देशविदेशमा रहेका व्यक्तिहरुलाई कोषका लागि आर्थिक सहयोग रकम जम्मा गर्न थाकस चितवनले आह्वान गरेको छ । पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी कोषमा रकम सहयोग गर्न आह्वान गरेपछि मनोज महतो र उषा महतो दम्पतीले एक लाख एक रुपैयाँ नगद सहयोग जम्मा गरेको थाकस चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जनाएका छन् ।

अक्षयकोषका लागि धेरै व्यक्तिहरुले आर्थिक सहयोग गर्ने आश्वासन दिएको जिल्ला सदस्य एवम् थाकसको शिक्षा तथा प्रशिक्षण विभागका संयोजक जीतबहादुर महतोले बताए । आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले थारु कल्याणकारिणी सभा चितवनको लक्ष्मी बैंक लि. मा रहेको खाता नं. ००८११०३७७६३ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।

अक्षयकोषमा एकलाख दिने मनोज र उषा को हुन् ?
मनोज महतो र उषा महतो दम्पत्ती भरतपुर महानगरपालिका वडा नं. २७, पर्साढापका स्थायी निवासी हुन् । हाल उनीहरु अमेरिकाको टेक्सासमा रहेका छन् । मनोज महतो एक प्राविधिक सञ्चारकर्मी हुन् । उनले चितवनको पहिलो रेडियो सिनर्जी एफएममा २०६५ देखि २०६८ सम्म सूचनाप्रविधिसम्बन्धि “इन्फोटिक्स” कार्यक्रमबाट प्रवेश गरी प्राविधिकको रुपमा समेत काम गरे । त्यसका साथै उनले “शुभ बिहानी”, “यङना हमार” कार्यक्रम सञ्चालन गरे । साथै थारु आदिवासी गैरसरकारी संस्था महासंघ सौजन्यमा “हमार अधिकार” कार्यक्रमको उत्पादन गरेर नेपालको ६ वटा रेडियो स्टेशनबाट प्रसारण गर्दथे ।

सिनर्जी एफएममा प्रवेश गर्नु अगाडि उनले २०६४ मा थारु भाषाको “हमार चिनारी” पत्रिका प्रकाशन गरेका थिए । सिनर्जी एफएममा काम गर्दागर्दै उनले २०६७ मा “हमार अधिकार” प्रकाशन गरे । २०७० सालमा “जीतवाहन” पुस्तक प्रकाशन गरे । त्यस्तै चितवन पोष्ट, कायाकैरन र जोश पत्रिकामा साप्ताहिक रुपमा सूचनाप्रविधि सम्बन्धि “साइबर संसार” स्तम्भका स्तम्भकारका नियमित रुपमा लेख्ने गर्दथे । उनले अनलाइन विधामा पनि काम गरेका छन् । सफ्टवेयर आफैंले डिजाइन र उत्पादन गरी २०६६ सालमा थारुनेपाल डट कम र २०६९ मा थारु अनलाइन डट कम दर्ता गरी शुरु गरेका थिए ।

अहिले अमेरिकामै रहेर पनि सङ्हाति पत्रिकाको अनलाइन सम्पादकमा रही सहयोग गर्दै आएका छन् ।  २०६८ मा भारत गई सूचनाप्रविधि सम्बन्धि थप अध्ययन गरे । त्यसपछि उनले नारायणगढमा “सफ्टवेयर उत्पादन तथा अनुसन्धान केन्द्र” मा काम गर्न थाले । त्यस कम्पनीमा काम गदैगर्दा मनोज र उषा को भेट भयो । त्यसपछि २०६९ मा दुवैजना मिलेर “वेबसफ्ट नेपाल प्रा.लि.” स्थापना गरी काम गर्न थाले । वेबसफ्ट नेपालमा सँगसँगै काम गर्दैगर्दा २०७३ मा उनीहरुको विवाह भयो । विवाहपछि दुवैजना अमेरिका गए ।

हाल मनोज अमेरिकास्थित एक टेलिकम्युनिकेशन सफ्टवेयर कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत छन् । उषाले पनि आफ्नो क्षमता अनुसारको पहिचान बनाउँदैछिन् ।  थारु समुदायमा शैक्षिक अवस्था र विद्यार्थीहरुको संघर्ष देख्दै आईरहेको र आफैंले पनि विद्यार्थी जीवनकालमा भोग्दै आएकोले अक्षयकोष स्थापनाका लागि सहयोग गरेकोे मनोजले मेसेन्जर मार्फत् बताए । उनले भने – “अहिलेको युगमा शिक्षा नै सर्वोपरि हो । छात्रवृत्तिले विद्यार्थीहरुलाई केहि राहत र प्रोत्साहन दिन्छ ।” आफूले कक्षा ५ मा पढ्दा जिल्ला स्तरिय परीक्षामा सरकारी विद्यालयभरिमा जिल्लाकै दोश्रो भई केहि आर्थिक सहयोग पाएको बताए । साथै कक्षा ६ देखि माथिका कक्षाहरुमा केहि छुट पाएको अनुभव पनि बताउँदै अक्षयकोषबाट धेरै विद्यार्थीहरुलाई राहत र प्रोत्साहन मिल्ने मनोजले विश्वास लिएका छन् ।

 

 



ट्रेन्डिङ