आज जितिया पर्वको मुख्य दिन, घरघरमै बसेर मनाउँदै

आज जितिया पर्वको मुख्य दिन, घरघरमै बसेर मनाउँदै

चितवन,२५ भदौं । चितवन सहित तराई क्षेत्रका थारु समुदायका महिलाले तीनदिन सम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो । ब्रतालुहरु आज निरहार ब्रत बस्ने दिन । थारु सँगै मिथिला क्षेत्रमा बसोबास गर्नेहरुलेपनि जितिया पर्व मनाउने गरेका छन् ।

विगतका वर्षहरुमा जितिया लक्षित थारु समुदायको टोलटोलमा कार्यक्रमहरु आयोजना हुँदैआएको थियो । यो पटक भने घरघरमै सीमित बन्न पुगेको छ । थारु कल्याणकारिणी सभा चितवनले महामारीलाई लक्षित गरेर चाडपर्व कार्यविधि नै बनाएको छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् । जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।



ट्रेन्डिङ