उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा आज मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । २१ दिनको निषेधाज्ञाले समेत कोरोना संक्रमण अपेक्षाकृत नियन्त्रणमा आउन नसकेको र जनतामा पनि आक्रोस बढ्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।

उपत्यकामा निषेधाज्ञा जारी राख्‍ने वा नराख्‍ने भन्नबारे गृह मन्त्रालयसँग समन्वय गरेर अन्तीम निर्णय लिइने एक अधिकारीले बताए । यसका लागि तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्‍ने तयारी छ ।

तर फेरि निषेधाज्ञा जारी राखे जनताले नमान्‍ने र तनावको स्थिति आउनसक्ने भन्दै खुकुलो बनाउने तर सामाजिक दूरीलगायतका विषयमा कडाइ गर्ने तयारी छ । एक उच्च अधिकारीले भने, “नाकामा कडाइ हुन्छ । तर उपत्यकाभित्र खुकुलो बनाइन्छ । यसप्रति नागरिक सचेत हुनपर्छ । सवारी-साधन पनि जोरबिजोरमा चलाउन दिनेतर्फ हामी अगाडि बढेका छौं । अन्य क्षेत्र पनि खुल्न सक्नेछन् । तर त्यसलाई कसरी प्रभावकारी बनाउने छलफल हुन्छ ।”

सुरक्षा अधिकारीले समेत निषेधाज्ञा थपिए नागरिकसँग मुडभेडको अवस्था आउनसक्ने चेतावनी दिँदै आएका छन् ।

निषेधाज्ञापछि उपत्यकाको जनजीवन ठप्प छ । व्यापार, व्यावसायसमेत धरासायी बन्दै गएको भन्दै सरोकारवाला निकायले समेत निषेधाज्ञा हटाउनुपर्ने माग गर्दै आएका छन् ।



ट्रेन्डिङ