चितवन सहित तराई क्षेत्रमा आजदेखि जितिया पर्व सुरु

चितवन सहित तराई क्षेत्रमा आजदेखि जितिया पर्व सुरु

चितवन, २४ भदौं । चितवन सहित तराईका थारु समुदायमा आजदेखि जितिया पर्व सुरु भएको छ । निरहार ब्रत बसेर झमटा पार्दै रमाइलो गरेर मनाउने यो पर्व यो पटक कोरोना महामारीका कारण घरघरमा सीमित बन्न पुगेको छ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष चितवन लगायत अन्य जिल्लामा पनि जितिया पर्वकै नाउँमा औपचारिक कार्यक्रम आयोजना गरिएन । चितवनमा थारुहरुको छाता संस्था थारु कल्याणकारिणी सभाले घरघरमै सीमित रहेर जितिया पर्व मनाउन सबैलाई आग्रह गरेको छ । थाकसले बनाएको चाडपर्व कार्यविधि अनुसार नै थारु समुदायका दिदी बहिनीहरु आआफ्नै घरमा बसेर जितिया पर्व मनाउन थालेको थारु कल्याणकारिणी सभा चितवनका सभापती ललितकुमार चौधरीले जानकारी दिए ।

चितवनसहित थारु बाहुल्य तराईका २२ जिल्ला भन्दाबढीका थारु महिलाहरुले जितिया पर्व मनाईरहेका छन् । आज थारु समुदायका महिलाहरु विहानैदेखि जितिया पर्व मनाउन थालेका छन् । आज विहानै नजिकैको ताल तलैया या खोला नदीमा स्नान गरी खाना खाने गर्दछन् । आजको दिनलाई लहाखाई भन्ने गरिन्छ । आज दिनभर साथीसंगी भेटघाट भएर गाउँमा झमटा पार्दै रमाइलो गर्ने प्रचलन छ । तर यो पटक त्यो वातावरण भएन ।
तीन दिनसम्म विभिन्न धार्मिक कार्यगरी यो पर्व मनाईने भीमवली थारु नारी समुह पदमपुरकी अध्यक्ष बालकुमारी चौधरी बताउँछिन् ।

हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गर्दछन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पुरा हुने विश्वास रहेको थारु कल्याणकारिणी सभा चितवनका राजनीतिक सल्लाहकार जयचन्द्र प्रसाद चौधरी बताउँछन् ।

कृष्णपक्ष सप्तमी तिथिदेखि जितिया पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । ब्रतालु महिलाहरु पहिलो दिन नजिकका नदी तलाउमा गईमा नुहाएर चोखिने गरेका छन् । दोस्रो दिनको विहान भाले नबस्दै दर खाएपछि दिनभर निराहर रहन्छन् । दिनभर आफ्नो दुःख पीडा समेटेर गीत गाई नाचगान गर्ने गर्छन् । धार्मिक कथा अनुरुप सूर्यपुत्र जितवाहनको कथा सुन्छन् । यस कथालाई संकटमोचक एवंम सफलताको प्रतिकको रुपमा लिइन्छ । बुधबार विहान सुर्योदयसंगै स्नान गरी पूर्ण रुपले उपवास बसेकी ब्रतालुले स्थानीय नदी किनारमा विष्णु भगवानको आकृति बनाई विधिवत पूजा गरेपछि अन्न ग्रहण गर्छन् र यो संगै जितिया पर्वको समापन हुन्छ ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । जितिया पर्व लोप हुन नदिन चितवनका थारु महिलाहरु सक्रिय बनेको थारु महिला चन्द्राकुमारी चौधरी बताउँछिन् । चितवनमा विशेषगरी थारु बस्ती बाहुल्य रहेको पूर्वी चितवन र पश्चिम चितवन सँगै माडीमा यो पर्व भव्यताका साथ मनाईने गरिएको छ ।

 

महामारीको चपेटमा जितियाः
प्रत्येक वर्ष चितवनका सबैजसो थारु बस्तीहरुमा झमटा कार्यक्रम आयोजना हुँदै आएको थियो । एउटा गाउँबाट अर्को गाउँले झमटा कार्यक्रममा सहभागीताका लागि निम्तो दिने गर्दथें । धेरै गाउँका दिदी बहिनीहरु जम्मा भएर आआफ्नो भेषभुषा सहित गीत गाउँदै झमटा पाथैं, नाच्थें । तर यो पटक त्यस्तो भएन ।

अडियो भिडियोको प्रयोगः
जितिया पर्वको महत्वपूर्ण अंशको रुपमा जितबाहनको कथा हो । ब्रतालु महिलाहरुले जितवाहनको कथा नसुने सम्म यो ब्रतले खासै अर्थ राख्दैन । गाउँका सबै ब्रतालु दिदी बहिनीहरु एकै ठाउँमा भेला भएर जितवाहनको कथा सुन्ने प्रचलन छ । एकजना कथा भन्ने ( कहलाहर ) एकजना हो मा हैसे मिलाउने ( हुकलाहर ) हुन्छन् । तर यो पटक भिडभाड गर्ने अनुमती छैन । सामाजिक दुरी कायम राख्दा पनि जोखिम हुन सक्नेभएपछि थारु कल्याणकारिणी सभाले नै अडियो भिडियो मार्फत कथा सुन्न सबैलाई आग्रह गरेको छ । सोही अनुसार प्राइम ब्रोडकास्टीङ मिडिया प्रा.लीले ब्रतालु दिदी बहिनीहरुका लागि घरमै बसेर जितवाहनको कथा सुन्ने बातावरण तयार पारेको छ । प्राइम ब्रोडकास्टीङ मिडिया प्रा.लीको अफिसियल यूटुब ( मेरो प्राइम टिभी ) मार्फत कथा सुन्न सक्नेछन् । सबै ठाउँका दिदी बहिनीहरु घरघरमै बसेर आआफ्नो पायक पर्ने समयमा कथा सुन्न सक्ने व्यवस्था मिलाइएको प्राइम ब्रोडकास्टीङ मिडिया प्रा.लीका अध्यक्ष सन्तकुमार चौधरीले जानकारी दिए । यो पटक पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नं. ९ स्थित बैरहनीका राजकुमार चौधरीले कथा भन्दैछन भने वडा नं. ७ मझुईका रामेश्वर महतोले होमा हैसे मिलाउँदैछन् ।

https://www.youtube.com/channel/UCeHje0_BUD4hN77meE61ARg?view_as=subscriber



ट्रेन्डिङ