स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति बेहोर्नुपर्छः प्रधानमन्त्री ओली

स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति बेहोर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाण्डौं, २१ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा ठूलो क्षति भोग्नु पर्नेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उनले ( कोभिड-१९ )बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि आग्रह गरे ।

निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आज आयोजना गरिएको छलफलमा प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेको प्रनधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।

छलफलमा प्रधानमन्त्री ओलीले काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि स्पष्ट पारेका थिए । ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।

छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गरेका थिए त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्वोधनको बारेमा स्पष्ट गरेका थिए ।



ट्रेन्डिङ