मलको चरम अभाव सृजना भएपछि किसानहरु समस्यामा

मलको चरम अभाव सृजना भएपछि किसानहरु समस्यामा

चितवन,१७ भदौं । मलको अभाव सृजना भएपछि चितवनका किसानहरु मल पाउने आशमा घण्टौं सम्म पालो कुर्नुपरेको छ । धानमा राख्ने युरिया मल लिनका लागि भरतपुर वडा नं. ६ गीतानगरमा आज विहानैदेखि किसानहरुको बाक्लो भीड लागेको थियो ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले १ सय २० बोरा युरिया मल बाँड्ने सूचना पाएपछि विहानैदेखि किसानहरु लाईनमा बसेका थिए । मल लिन एक हजारभन्दा धेरै स्थानीय बिहान तीन बजेबाटै लाइन लागेका हुन। सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जनाले मल पाए । अरु रित्तै फर्किए ।

चितवनमा निषेधाज्ञा छ । भेला, जमघट र हिँडडुल गर्न बन्देज छ । तर कोरोनाको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाएनन् । पाएकाहरुले पनि आवश्यकताभन्दा एकदम न्यून पाए । सहकारीका सचिव होमनाथ अधिकारी कम्तीमा तीन चार हजार बोरा मल आवश्यक पर्ने बेलामा सय बोरा मल आएको बताउँछन् ।

यता पूर्वी चितवनको अवस्था पनि उस्तै छ । पूर्वी चितवनको रत्ननगर, भण्डारा, पदमपुर क्षेत्रमा पनि मलको हाहाकार छ । सहकारीमा मल आएको सूचना पाएपछि विहानैदेखि मल लिन लाइनमा बस्नुपर्ने बाध्यता छ ।

 

तस्विर सौजन्यः रमेशकुमार पौडेल



ट्रेन्डिङ