बुटवलमा पारिश्रमिकको विषयलाई लिएर सेवा बन्द गर्ने चिकित्सकको चेतावनी

बुटवलमा पारिश्रमिकको विषयलाई लिएर सेवा बन्द गर्ने चिकित्सकको चेतावनी

बुटवल, १६ भदौं । सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने बताइरहँदा बुटवलको कोरोना विशेष अस्पतालका चिकित्सकले पारिश्रमिकको विषयलाई लिएर सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

अस्पतालका चिकित्सकले जोखिम भत्ता र मासिक पारिश्रमिक नियमित नपाएको भन्दै सेवा नै बन्द गर्ने चेतावनी दिएका हुन् । सरकारले उपलब्ध गराउने भनेको सतप्रतिशत जोखिम भत्ता र नियमित रूपमा पाउनुपर्ने पारिश्रमिक नपाएपछि कोरोना विशेष अस्पतालमा कार्यरत ९ जना चिकित्सकले सेवा नै बन्द गर्ने बताएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य भट्टराईलाई सम्बोधन गर्दै उनीहरूले ११ भदौमा नै पारिश्रमिक र भत्ता उपलब्ध गराइदिन भन्दै निवेदन दिएका थिए । तर, निवेदन दिए पनि आफ्ना माग सुनुवाइ नभएको उनीहरूको भनाइ छ । कोरोना विशेष अस्पतालका लागि अस्पतालले अस्थायी करारमा स्वास्थ्यकर्मी नियुक्त गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा। राजेन्द्र खनालले प्रदेश सरकार र केन्द्रले नै कम जोखिम भत्ता दिएकाले भत्ता वितरण हुन नसकेको बताए । उनले असारको अन्तिम साता आएको केही रकम जोखिम भत्ताबापत दिएको भए पनि कोरोना विशेष अस्पतालमा कार्यरत केही चिकित्सक भने त्यति बेला नै छुटेको भएकाले पनि भत्ता नपाएको हुन सक्ने बताए ।

मलाई आधिकारित रूपमा त केही जानाकारी आएको छैन । तर, जति दिने भनेको हो, सरकारले पनि दिएको छैन । असारको अन्तिम साता आएको केही रकम हामीले दिएको हो- उनले भने । स्थायी चिकित्सकलाई समेत राज्यले नियमित रूपमा भत्ता अझै उपलब्ध नगराएको उनको भनाइ छ । पारिश्रमिकको सवालमा भने त्यस्तो नभएको उनले बताए ।

चिकित्सकहरू डा। सहिल भुसाल, डा। प्रतिमा भण्डारी, डा। विशला झा, डा। राजेश लिम्बू, डा। एलिना न्यौपाने, डा। कल्याण रेग्मी, डा। आर्शीवाद अर्याल, डा। सविता अर्याल र डा। पुजन ज्ञवालीद्वारा हस्ताक्षरित निवेदन लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईलाई बुझाइएको थियो ।

यता, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले चिकित्सकका माग जायज भएको बताए । जटिल अवस्थामा खटिएका चिकित्सकको तलब निकासा नभएको भनी आएको र यसको छिट्टै समाधान हुने उनको भनाइ छ ।

हाल अस्पतालमा ९ जना चिकित्सक, ६ जना एचए, करिब ४ दर्जन नर्सिङ स्टाफ र ४ जना गार्डहरूले ३ सिफटमा काम गर्दै आएका छन् ।



ट्रेन्डिङ