हिरासतमा युवक मृत्यु प्रकरणः इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

हिरासतमा युवक मृत्यु प्रकरणः इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित

रौतहट ,१६ भदौं । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक  नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयले इन्‍सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको हो ।

जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो । उनले उसै बेला हत्यामा आफ्नो संलग्नता नरहेको भनेका थिए । घटनाको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको आदेशमा गरुडा आएका इन्सपेक्टर सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोपपछि उनीहरुलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।

प्रहरी निमावली २०७१ नियम ११५९४० बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि इन्सपेक्टर सिंहलाई गृह मन्त्रालय (सचिवस्तर )को भदौ १५ गतेको निर्णयानुसार अनुसार निलम्बन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अन्सु सिंहले बताए । ‘गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८९ को पत्रले थप अनुसन्धान र जाँचबुझ नसकिएसम्म ६ महिनाका लागि निलम्बन गरिएको हो,’ उनले भने, ‘निलम्बन गरिदिन हुन भनी जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोधबमोजिम पत्र आएकोले पनि अनुसन्धानका लागि तीनैजना निलम्बनमा परेका हुन् ।’



ट्रेन्डिङ