कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु

वीरगञ्ज, १६ भदौं । कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा र पर्साका १-१ जना छन् भने १ जनाको सनाखत हुन सकेको छैन । विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका तिनै जनाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नारायणी अस्पताल मातहात रहेको अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका-२० का ५३ वर्षीय पुरुषको गएराति १ बजे मृत्यु भएको थियो । उनलाई गत ३१ साउनमा संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष मधुमेह र मिर्गौला रोगी रहेको बताइएको छ । स्वासप्रस्वासको सामस्या देखिएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

यस्तै बाराको कोल्भी गाउँपालिकाका ६० वर्षीय पुरुषको समेत संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयप्रसाद श्रीवास्तवले जानकारी दिए । उनका अनुसार अस्थायी अस्पताल गण्डक हस्पिटलमा १० भदौमा भर्ना भएका ती पुरुषको मंगलबार मृत्यु भएको हो ।

स्वाप्रश्वासमा समस्या भएपछि उनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो । मृतक पुरुष उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ । त्यसैगरी नाम, ठेगाना नखुलेको १ जना बेवारिसे पुरुषको पनि सङ्क्रमणका कारण मृत्यु भएको छ ।

१३ भदौमा सडकमा वेवारिसे अवस्थामा लडेको अवस्थामा स्थानीयको पहलमा उनलाई अस्पताल भर्ना गरिएको थियो । अन्दाजी ६० वर्षीय ती पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

जिन एक्स्पर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । जसमध्ये २ बेवारिसे व्यक्तिसहित पर्साका ३८, बाराका ११ र रौतहटका ३ जना रहेको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए ।



ट्रेन्डिङ