पहिरो अपडेटः अहिलेसम्म १० जनाको शव भेटियो

पहिरो अपडेटः अहिलेसम्म १० जनाको शव भेटियो

कालिकोट, १५ भदौं । कालीकोटको तिलागुफा नगरपालिका- १ नाग्मका ४ घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान ७ बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव राति ७ बजेतिर फेला परेको हो ।

शुभकालिका गाउँपालिका- ७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

यस्तै, सुर्खेतको भेरीगङ्गा( १० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

बेपत्ता रहेका २ जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

 

 



ट्रेन्डिङ