वीरगञ्जमा थप ३ कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप ३ कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, १३ भदौं । वीरगञ्जमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार रातिदेखि बिहीवार दिउँसोसम्म थप ३ संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा वीरगञ्ज महानगरपालिका-१४ का ६२ वर्षीय पुरुष, धोबनी गाउँपालिका-३ गुलरीयाका ७२ पुरुष र बाराको सुर्वण गाँउपालिका- ४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिला रहेका छन् । वीरगञ्जका ६२ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । ३० साउनमा संक्रमण पुष्टि भएपछि सोही दिनदेखि उनलाई सो अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको बताइएको छ ।

उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत विनय प्रसाद श्रीवास्तवले जानकारी दिए । यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको सुवर्ण गाउँपालिकाकी गर्भवती महिलाको समेत संक्रमणबाट ज्यान गएको उनले बताए । श्वासप्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि गत ८ भदौमा नारायणी अस्पतालमा ती महिलालाइ भर्ना गरिएको थियो ।

स्वाब परिक्षणमा बुधबार उनको रिपोर्ट पोजिटिभ आएको प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिए । यसैगरी नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिकाका ७२ वर्षीय बुधबार राति मृत्यु भएको उनले बताए ।

उनका अनुसार ती वृद्धलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो ।



ट्रेन्डिङ