साउदीमा अहिले सम्म ७३८ नेपालीले बहिर्गमन भिसा पाए

साउदीमा अहिले सम्म ७३८ नेपालीले  बहिर्गमन भिसा पाए

काठमाडौं, १२ भदौं। साउदीमा हालसम्म रहेका ७३८ नेपालीले अहिलेसम्म बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासले साउदीको सरकारलाई निवेदन दिएकामध्ये केही व्यक्तिले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले ६१८ जनालाई बहिर्गमन भिसा दिएको थियो । एक विज्ञप्ति जारी गर्दै थप १२० जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा पाएपछि विभिन्‍न कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नविकरण नगरेका कारण स्वदेश फर्कन नपाएकाहरू स्वदेश फर्किन पाउने भएका हुन् । बहिर्गमन भिसा प्राप्त गरेका नेपालीलाई दूतावासले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरूबाट स्वदेश फर्किने तयारी थाल्न पनि भनेको छ ।

बहिर्गमन भिसाका लागि साउदीमा रहेको नेपाली दूतावासले विभिन्न समयमा नेपालीबाट संकलन गरेका विवरण केही समयअगाडि साउदी सरकारलाई उपलब्ध गराए पनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रमशः सुरु भएको दूतावासले जनाएको छ । साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावासमा वहिर्गमन भिषाका लागि राहदानी पेश गरे अनुरुप दूतावासको सिफारिसमा बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।



ट्रेन्डिङ