नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं, १२ भदौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमण भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

त्यस्तै, प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । तीमध्ये पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् । वाग्मती प्रदेशमा ११ जना पत्रकार संक्मिरत भएका छन् । तीमध्ये काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमित भएका छन् । तीमध्ये कास्कीका १ र नवलपुरका ७ जना रहेका छन् ।

प्रदेश ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । तीमध्ये बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रूपन्देहीका २ जना रहेका छन् । त्यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जना पत्रकार संक्रमित भएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । उनले संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिए ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उनले बताए ।

महासंघले महामारीको विषम् परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्नसमेत अपिल गरेको छ ।



ट्रेन्डिङ