निषेधाज्ञामा परीक्षणको दायरा फराकिलो बनाउँदै भरतपुर महानगर

निषेधाज्ञामा परीक्षणको दायरा फराकिलो बनाउँदै भरतपुर महानगर

चितवन, १२ भदौं । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट टे«सिङ, स्वाब सङ्कलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ । शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ । भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ ।

उहाँका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाको पिसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताउनुभयो । महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । गत दुई सातामा मात्र यो सङ्ख्या २३६ रहेको छ जसमध्ये महिला १३३ र पुरुष १०३ जना रहेका छन् । पछिल्लो समय पुरुषभन्दा महिलामा सङ्क्रमण बढी छ ।

महानगरमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएपछि आइसोलेसनको व्यवस्थापनमा महानगर जुटेको छ । हाल महानगरको आइसोलेसनमा २३६ जना रहेका छन् । तीमध्ये ८१ घरमा र १५५ जना संस्थागत आइसोलेसनमा छन् । सङ्क्रमितमध्ये ८४ जना निको भइसकेका छन् । २३६ सक्रिय सङ्क्रमित महानगरमा छन् । महानगरले सङ्क्रमण देखापरेपछि दुई हजार ३४७ जनाको कन्ट्याक्ट टे«सिङ गरिसकेको छ ।

निषेधाज्ञाको समयमा मात्र एक हजार ५५६ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय रहेको बागेश्वरी क्षेत्रमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले सङ्क्रमित बढेपछि निषेधाज्ञा जारी भएसँगै आन्तरिक काममा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “बागेश्वरीमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेका छौँ । यसलाई बढाउँदै लैजान्छौँ ।” उहाँका अनुसार कन्ट्याक्ट ट्रेसिङसँगै पिसीआर स्वाब सङ्कलनलाई तीव्रता दिएर परीक्षण बढाइएको उहाँको भनाइ छ । यसअघिका क्वारेन्टिन निर्मलीकरण र विकास गर्नाका साथै घरमै रहेका सङ्क्रमितलाई सुरक्षित रहन आवश्यक जनचेतना जगाइएको दाहालले जानकारी दिनुभयो ।

महानगरले नेपालमा सङ्क्रमण देखिएलगत्तै कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । नेपालमै कोरोना उपचारका लागि यो पहिलो अस्पताल हो । यससँगै बाहिरबाट आएका महानगरवासी राख्न ५० वटा क्वारेन्टिन बनाएकामा हाल ११ वटा सञ्चालनमा छन् । दाहालले निषेधाज्ञामा पनि आवश्यक वस्तु तथा सेवाहरु सञ्चालनमा समन्वय र सहजीकरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवधिमा जटिल प्रकारका दीर्घरोगीको उपचारमा सहजता पनि हामीले गरिरहेका छौँ ।” कतिपयले उपचार पाउन कठिन भएको गुनासो गरेकामा त्यसको सहजीकरण पनि महानगरले गरेको दाहालको धारणा छ ।

महानगरवासीको दैनिकीमा समस्या रहे पनि रोगसँग संयुक्त रुपमा लड्नुको विकल्प नभएको भन्दै उहाँले रोकथाम, नियन्त्रण र उपचारमा महानगर जुटिरहेको बताउनुभयो । अत्यावश्यक कामका लागि महानगरले समन्वय गरिरहेको उहाँको भनाइ छ । रासस



ट्रेन्डिङ