झापा, १० भदौं । झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरी बलको गोली लागेर १ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीमाथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।

स्थानीयले गोरु काटेको सूचना पाएपछि कामाटोली पुगेको प्रहरीमाथि आक्रमण भएपछि थप मद्दत मागेको थियो । प्रहरीको मद्दतका लागि पुगेको सशस्त्र प्रहरीमाथि नै स्थानीयले आक्रमण गरेपछि गोली चल्दा गम्भीर घाइते बनेका आलमको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार स्थानीयले काटेको शंकास्पद मासुसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेका थिए ।

प्रहरीको उद्धारका लागि पुगेको सशस्त्र प्रहरीमाथि पनि उनीहरू आक्रमणमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन १० राउण्ड फायर गरिएको थियो । स्थिति नियन्त्रणमा लिन गोली चालाइएपछि आलम घाइते भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

‘गोरु काटेको सूचना पाएर घटनास्थल पुगी शंकास्पद मासु बरामद गरेपछि स्थानीय प्रहरीमाथि आक्रमणमा भएको थियो’ उनले शिलापत्रसँग भने, ‘प्रहरीको उद्धारका लागि पुगेको सशस्त्र प्रहरीमाथि पनि आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन १० राउण्ड फायर हुँदा १ जना घाइते भएपछि बीएण्डसी अस्पतालमा मृत्यु भएको भन्ने खबर आएको छ ।’

प्रहरीको गोली लागी आलमको मृत्यु भएपछि सो क्षेत्र तनाबग्रस्त बनेको छ ।



ट्रेन्डिङ