संक्रमित थुनुवा आइसोलेसनबाटै फरार

संक्रमित थुनुवा आइसोलेसनबाटै फरार

बाकें, ८ भदौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १ जना कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना संक्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

लागुऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई ५ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो ।

थुनुवा फरार भएको जानकारी पाउनासाथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ५ सीसी लागुऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै संक्रमित थुनुवा फरार भएपछि खोजी कार्यका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताए ।

संक्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ प्रहरी खटिएका थिए ।



ट्रेन्डिङ