भरतपुर क्यान्सर अस्पतालको सेवा आजबाट पुनः सुरु

भरतपुर क्यान्सर अस्पतालको सेवा आजबाट पुनः सुरु

चितवन, ८ भदौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरू आजबाट पुनः सुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि ३२ साउनबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमुना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरूले आजबाट काम गर्ने बताए । परीक्षणका क्रममा १७ नर्स र ४ सहयोगीलाई संक्रमण देखिएको उनले बताए । अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ । अस्पतालका बहिरङ्ग सेवाहरू नियमित गरिएको छ । यद्यपि, अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकहरूको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ । अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् ।

प्रदेश नम्बर २ को बढी संक्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । यसबाट अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको गौतमले बताए । यसैबीच सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले भने, ुहामी २(३ दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा छौँ ।ु

प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्टहरू आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो । अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ । आवश्यक जनशक्ति अस्पतालमै छन । हाल जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन १ सातासम्म कुर्नुपर्ने बाध्यता छ ।



ट्रेन्डिङ