दुईदाजुलाई कुटपिट गरी बहिनीमाथी सामुहिक बलत्कार

दुईदाजुलाई कुटपिट गरी बहिनीमाथी सामुहिक बलत्कार

जनकपुृर,७ भदौं । धनुषामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । यही १ भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेको खुलासा भएको हो ।

दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।‘युवती र उनीसँगै रहेका दुई जना दाजुलाई बाटोमा चारै जनाले जबर्जस्ती रोके । गाउँका अन्य साथीहरूलाई समेत बोलाएर दाजुलाई कुटपिट गरी गाउँबाट आएका अन्य साथीहरूलाई घर पठाई पालैपालो बलात्कार गरे,’ उनले भने ।

घटनालगत्तै ती युवतीले प्रहरीलाई खबर गरेको डीएसपी मिश्रले बताए । उनका अनुसार अनुसन्धानका क्रममा पीडितले टिपाएको हुलियाका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा सनाखतका लागि ल्याइएको थियो । तीनीहरूमध्ये धनुषाधाम नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादवलाई पीडितले पहिचान गरी सनाखत गरेको उनले जानकारी दिए ।

यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनको भनाइ छ । घटना भएलगतै प्रादेशिक अस्पताल जनकपुरमा ती युवतीको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आइनसकेको डीएसपी मिश्रले बताए ।



ट्रेन्डिङ