भरतपुर महानगरमा ४ दिनदेखि सडकमै फोहोर

भरतपुर महानगरमा ४ दिनदेखि सडकमै फोहोर

चितवन, ६ भदौं । भरतपुर महानगरपालिकाको फोहोर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहोर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरूको अवरोधपछि ४ दिनदेखि फोहोर उठ्न सकेको छैन् ।

महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहोर फाल्दै आएको छ । नारायणीमा फोहोर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ, तर महानगरले ल्यान्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि जनाउँदै सो क्षेत्रमा फोहोर फाल्ने गरेको छ । भरतपुर–३ को सन्सारीमाई टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले प्रदूषण बढेकाले फोहोर फाल्न रोकिएको बताए । ुपहिले खाल्डोमा फोहोर फाल्ने गरिएको थियो, अहिले खुल्ला ठाउँमै फाल्न थालिएको छ । अस्पतालजन्य फोहोर पनि असरल्ल फाल्न थालेपछि विरोध गरेका हौँ, उनले भने । महानगरपालिकाभित्र कुहिने फोहोर घरमै व्यवस्थापन गर्नुपर्ने भन्दै नकुहिने फोहोर मात्र व्यवस्थापनका लागि समस्या नहुने उनको भनाइ छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा फोहोर उठ्न नसक्दा महानगरका शहरी क्षेत्र दुर्गन्धित बन्न थालेका छन् । भरतपुरको मुख्य बजार नारायणगढको लाइन्सचोकदेखि शहीदचोक हुँदै पुल्चोकसम्म ठाउँठाउँमा फोहोरका थुप्रोहरू देख्न सकिन्छ ।सबै मानिसभित्रै रहँदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन् फोहोर देखिन्छ । भरतपुर महानगरले फोहोर व्यवस्थापन गर्नका लागि टेन्डरमार्फत व्यवसायीहरूलाई ठेक्का लगाएको छ । भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले कोरोनाका कारण फोहोर उठाउन समस्या भइरहेको बताए । ुकोरोनाको त्रासले गर्दा डम्पिङ साइट क्षेत्रको स्थानीयवासीले अवरोध गरेका छन्, उनले भने, निरन्तर रुपमा समन्वय गरिरहेका छौँ तर कहिले फोहोर उठ्छ भन्ने यकिन छैन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ३ दिनदेखि फोहोर उठ्न नसकेको बताए । उनले स्थानीयवासीको अवरोधका कारण फोहोर उठ्न नसकेको जानकारी दिए । ुप्रत्येक स्थानीयवासीका आ–आफ्ना माग छन्, फोहोरमा राजनीति गर्ने गरिएको छ, उनले भने । जोशीले भरतपुरमा व्यवस्थित ल्यान्डफिल्ड साइड निर्माणका लागि कोरियन कम्पनीले डीपीआर निर्माण गरिसकेको बताए । उनले महानगरबाट स्वीकृत भएसँगै निर्माणको काम अघि बढ्ने जानकारी दिए ।

भरतपुर महानगरको ७ देखि १२ नं वडा क्षेत्रभित्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको बेष्ट म्यानेजमेन्ट ग्रुपअन्तर्गत भरतपुर परियोजनाका संयोजक देवीप्रसाद घिमिरेले फोहोर फाल्ने डम्पिङ क्षेत्रका स्थानीयवासीले अवरोध गरेपछि फोहोर फाल्न नसकिएको बताए । विभिन्न हानिकारक तथा संक्रमणयुक्त फोहोर आउने र कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले फोहोर फाल्न दिएका छैनन्, त्यसै कारण फोहोर उठाउन सकेका छैनौँ, उनले भने । महानगरपालिकालाई यसबारे जानकारी गराए पनि खासै चासो नदेखाएको उनले गुनासो गरे । स्थानीयवासीले फोहोर फाल्ने ठाउँको विकल्प खोज्न माग गरेका छन् ।

संयोजक घिमिरेले फोहोर उठाउने कर्मचारीको समेत स्वास्थ्य सुरक्षा हुन नसकेको गुनासो गरे । आफूहरूले स्यानिटाइजर, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको भए पनि अस्पतालका संक्रमित वस्तु ओसारपसार गर्दा जोखिम उच्च रहेको उनको भनाइ छ । संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्थानीय तहले पनि राहत तथा स्वास्थ्य बीमा गरिदिनुपर्नेलगायतको माग गरिरहेको भए पनि महानगरले बेवास्ता गरेको उनको गुनासो छ । महानगरपालिकामा सामान्य अवस्थामा दैनिक ७० टन फोहोर निस्कने गर्छ ।



ट्रेन्डिङ