एसिड काण्डको छिनोफानो सकियो, युवतीलाई एसिड छ्याप्ने दुवै जना जेल चलान

काठमाण्डौं, ४ भदौं । काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवतीमाथि एसिड छ्याप्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । ८ साउनमा सीतापाइलामा ओखल्ढुंगाकी युवती पवित्रा कार्कीलाई मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए ।
उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहको इजालसले कार्कीमाथि एसिड हान्ने दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहत कोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरूलाई कारागार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो ।
८ साउनको बेलुका पवित्रामाथि दही किन्न निस्किएको बेलामा एसिड हानिएको थियो । हाल उनी कीर्तिपुर अस्पतालमा उपचाररत छन् ।