रुपन्देहीमा कोरोनाका कारण एक जनाको मृत्यु

रुपन्देहीमा कोरोनाका कारण एक जनाको मृत्यु

रुपन्देही, ४ भदौं । रुपन्देहीको देवदह नगरपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिका–९, भलुहीमा रहेको देवदह मेडिकल कलेजमा कोरोना पोजिटिभ एक बिरामीको मृत्यु भएको हो ।

देवदह नगरपालिका–३, शिसपुर निवासी ७० वर्षीय कोरोना संक्रमित बिरामीको मृत्यु भएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ भएको पुष्टि भएको हो ।

कोरोनाका कारण मृत्यु भएका पुरुष विगत लामो समयदेखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेको देवदह नगरपालिका–३, का वडाअध्यक्ष वैकुण्ठबहादुर कुँवरले दिए ।केही दिनअगाडि भैरहवा मेडिकल कलेजमा उपचारका लागि  लगिएको र अस्पतालले घरमा फिर्ता पठाएको र पुनः देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

कोरोना पोजिटिभ भेटिएका पुरुषको नेपाली सेनाले दाह संस्कारको तयारी गरिरहेको देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । कोरोना पोजिटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई सिल गरिएको छ ।



ट्रेन्डिङ