रेष्टुरेन्ट बन्दभएपछि कुखुरा, ब्राखापाल्दै सौराहाका रेष्टुरेन्ट व्यवसायिहरु

रेष्टुरेन्ट बन्दभएपछि कुखुरा, ब्राखापाल्दै सौराहाका रेष्टुरेन्ट व्यवसायिहरु

दिपेन्द्र चौधरी (दिपेश)-
सौराहा ३ भदौं । कोरोनाको महामारीले थलिएको सौराहा लक डाउन खुलेयता विस्तारै जुरमुराउन खोज्दै थियो ।  बन्द भएका यहाँका होटल तथा रेष्टुरेन्टहरु संचालनमा आउँदै थियो । पर्यटकहरु नभए पनि विदामा पठाएका केही कर्मचारीलाई बोलाएर सरसफाइको काम चल्दैथियो । तत्कालै पर्यटकहरु नआएपनि दशै सम्म आन्तरीक पर्यटकहरु बढ्न सक्ने ब्यावसायिहरुले झिनोआशा गरेका थिए । तर सोचेजस्तो भइदिएन ।

चितवन लगाएत देशै भरी कोरोनाको संक्रमण बढ्दै गएपछि जुरमुराउन खोज्दै गरेको सौराहा पुन सुस्ताउन पुग्यो । उठ्न खोजेको सौराहको पर्यटन ब्याबसाय फेरी ठप्प भयो । सौराहाका होटल तथा रेष्टुरेन्टहरु फेरिपनि क्षणभरमै बन्दभयो । पर्यटकको अगमन नभएपछि यहाँका ससाना पसलहरु पनि बन्द छन । समुदाय स्तरमा नै संक्रमण देखिन थालेपछि व्याबसायिहरु थप मारेमा परे । महामारीले होटल तथा रेष्टुरेन्ट ब्याबसायिहरु थप चपेटामा परे । लगातारको बन्दको कारण आम्दानीको श्रोत नै बन्द भए पछि यहाँका पर्यटन ब्याबसायिहरु अन्य बैकल्पीक उपायहरु सोच्न थालेका छन ।

क्षेत्रीय रेवानका पूर्व अध्यक्ष सुवास चन्द्र गौतम होटलकै एटेज बाथरुम भएको कोठमा लोकल कुखुरा पालन शुरु गरेका छन । व्यवसाय ठप्प भएपछि दैनिकी चलाउन र आफुपनि थोरै व्यस्त हुनका लागि उनले यो काम सुरु गरेका हुन । पर्यटन व्यवसायवाट जीवन चलाउँदै आएका गौतम एकाएक कुखुरा पालनगर्ने कृषक बनेका छन् । लक डाउन शुरु भए पछि पर्यटन ब्यावसाय नै ठप्प भयो । चैतमा लकडाउन भएपनि वातावरण सहज हुनेमा हामी आशाबादी थियौ– गौतमले भने ‘सोचेजस्तो भइदिएन । ’  पर्यटन क्षेत्रमा नै सम्पूर्ण परिवार आश्रित रहेको अवस्थामा आम्दानीको श्रोत बन्द भएपछि बैकल्पीक उपाय खोज्नुपर्ने बाध्यता सृजना भयो । ठप्प भएको पर्यटन क्षेत्रले थप समस्याहरु सृजना हुन सक्नेभएकाले बेलैमा विकल्प सोच्नुपरेको उनको भनाई छ ।

पाहुनाहरु बसेर खाना खाने ठाउँमा अहिले लोकल कुखुरा चर्नेगर्दछन् । पर्यटक राख्ने एटेज बाथरुम भएको कोठामा नै कुखुरा पाल्न थालेको बताए । पाहुनाका लागि विभिन्न किसिमका खाना पकाएर खुवाउन माहिर गौतम अहिले कुखुरा पालनको विषयमा अध्ययन गरिरहेका छन् । दैनिक यूटुब हेरेर कुखुरा पालन सम्बिन्ध ज्ञान लिइरहेका छन् । अहिले उनको रेष्टुरेन्टमा ४ सय वटा लोकल प्रजातिका कुखुराहरु छन् । यस अघि उनले ३ सय ५० वटा विक्री गरिसकेका छन् ।

कुखुरासँगै बटाई चरापनि पाल्न सुरु गरेका छन् । कुखुरा सँगै सानो खोर बनाएर २ स्य वटा बटाई चरा पालेका छन् । कुखुुरा र बटाईपालेयता यिनको दैनिकी थोरै सहज बनेको छ । दिनभर कुखुरा र बटाई हेरेर उनीहरुलाई दानापानी हाल्ने उनीहरुको रेखदेख गर्दा महामारीले सृजना गरेको पीडालाई थोरै भुल्ने माध्यम बनेको सुनाउँछन् । यो अवस्था जारी नै रहे कुखुरा पालनलाई थप व्यवस्थ्ति गरी वृहत रुपमै अघि बढ्ने योजना सूनाए ।

रेवानका पूर्व अध्यक्ष गौतम जस्तै क्षेत्रीय रेवान सौराहाका निवर्तमान अध्यक्ष तथा अलफ्रेस रेष्टुरेन्टका संचालक गोकर्ण गिरीको पनि दैनिकी यसैगरी वित्ने गरेको छ । हात्तीचोक नजिकै रहेको यिनको लजमा पाहुनाहरु भरिभराउ हुन्थें । पाहुनाहरु चहलपहल हुने ठाउँमा अहिले बाख्रा र कुखुराहरुको भरिएको देख्न सकिन्छ । यिनले पनि बैकल्पीक पेशाको रुपमा बाख्रापालन सुरु गरेका छन् । अहिले ८ वटा बाख्रा खोरमा छन् । यस्तै १ सय ५० वटा लोकल प्रजातिका कुखुराहरु छन भने केह बटई चराहरु छन् ।  सौराहामा रेष्टुरेन्ट संचालन गरेको लामो अनुभव रहेको गिरी हिजोआज पशुपन्छीको रेखदेखमा समय विताउँछन्।

तत्कालै सौराहाको अवस्था सहज हुन नसक्ने यिनको अनुमान छ । पर्यटन क्षेत्रमा भइरहेको समस्याका कारण बैकल्पीक पेशाको रुपमा पशुपालन तर्फ उन्मुख बन्दै गएको गिरीले सौराहा नजीकै २६ कठ्ठा जग्गामा झण्डै १० लाख रुपैयाँको लगानीमा ब्यावसायिक रुपमा कुखुरा तथा बाख्रा पालन गर्ने योजना बनाएका छन् ।८०० भन्दाबढी लोकल कुखुरा र १ सय २० वटाभन्दा बढी बाख्रापालनका लागि आवश्यक गृहकार्यमा लागेको गिरीले जानकारी दिए । गिरी जस्तै यहाँका धेरै रेष्टुरन्ट व्यवसायिहरु बैकल्पीक पेशा अपनाउने तयारीमा छन् ।

लामो समय पर्यटन क्षेत्रमै विताएका अर्जुन चौधरीको होटलमा पनि ब्राखा चरेको देख्न सकिन्छ । उनले अहिले ७ वटा बाख्रा आफ्नो होटलमै पालेका छन् । बाख्रा थप गर्ने योजना रहेको सुनाए । यस्तै उनले एकसय लोकल कुखुराको चल्ला ल्याउने तयारीमा छन् । लोकल कुखुराको चल्ला अर्डर समेत भइसकेको बताए । यस्तै एकहजार वटा ब्रोइलर कुखुराको चल्ला समेत अर्डर गरेका छन् । यिनी होटल पार्क इनका संचालक हुन । महामारीले होटल ठप्प भएपछि फुर्सदिला बनेका चौधरी व्यवसायिक रुपमै पशुपन्छी पालेर थोरै आफुलाई व्यवस्त बनाउन चाहन्छन् । होटलमा बाख्रापालन र कुखुरा पालन भएपछि मानसिक तनाव थोरै कम हुने उनको विश्वास छ ।

यसरी पर्यटन क्षेत्रमा परेको महामारीको असरबारे कहिकतै चिन्तन र बहस भएको देखिदैन । स्थानीय देखि केन्द्रीयतहका अधिकारीहरु यो विषयमा बेखबर छन् । क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले पर्यटन क्षेत्रमा लागेका रेष्टुरेन्ट व्यवसायिहरुलाई पलायन हुनबाट राज्यले रोक्नुपर्ने बताए । रेष्टुरेन्ट व्यवसायिहरुको अवस्थालाई गहन तरिकाले अध्ययन गरेर राज्यले फरक फरक खालेको प्याकेज ल्याउनुपर्ने उनको भनाई छ ।

हाल सौराहाका साना ठुला गरी ५६ वटा रेष्टुरेन्ट तथा होटलहरु क्षेत्रीय रेवानमा आबद्ध छन् ।

 



ट्रेन्डिङ