बझाङमा पहिरोले बगाउँदा २ बालक बेपत्ता, ४ जनाको सकुशल उद्धार

बझाङमा पहिरोले बगाउँदा २ बालक बेपत्ता, ४ जनाको सकुशल उद्धार

बझाङ ३ भदौं । बझाङको बुंगल नगरपालिका – ५ मिडीमा खोलाको बाढी गाउँ पस्दा २ बालक बेपत्ता भएका छन् । गएराति ११ बजेतिर आएको पहिरोमा स्थानीय प्रताप ताम्राकारको घरसँगै २ बालक बगेर बेपत्ता भएका हुन् । अन्य ४ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

बेपत्ता हुनेमा १२ वर्षीय बालक सचिन ताम्राकार र ६ वर्षीय बालक सुदीप ओखेडा रहेका छन् । यस्तै ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया सुनिता ताम्राकार र १२ वर्षीय टिन्टी ताम्राकार र १६ वर्षीय अनिल ताम्राकारलाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

खोल्लेख(लुयटी(बेरुकाँडा सडकखण्डमा पर्ने खोलाले धार परिवर्तन गर्दा पहिरोको रूप लिएर घर बगेको जनाइएको छ । बेपत्ता बालक सचिन र सुदीप ओखेडाको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक बोहराले बताए ।पहिरोले ५ घरपरिवार विस्थापित भएका छन् । पहिरोको जोखिममा भएकाले बस्ती विस्तारका लागि मुचुल्कासहित बुंगल नगरपालिका, वडा कार्यालयमा जाँदा पनि कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।

खोल्लेक रंगशाला र खोल्लेक-लुयटी-बेरुकाँडा सडकखण्डले गर्दा पहिरोको समस्या निम्तिएको स्थानीयले बताएका छन् ।



ट्रेन्डिङ