विराटनगरमा संक्रमितको परिवारका २ महिलाको मृत्यु

विराटनगरमा संक्रमितको परिवारका २ महिलाको मृत्यु

विराटनगर ३२ साउन । विराटनगरमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको परिवारका २ सदस्यको मृत्यु भएको छ । विराटनगर–९ की ६२ वर्षीय महिला र विराटनगर–३ की ८७ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।

उनीहरू दुवैको परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि मृत्यु हुनुअघि नै १ जनाको कोरोना परीक्षण गरिएको थियो । तर, रिपोर्ट नआउँदै १ जनाको मृत्यु भएको हो भने अर्की महिलाको परीक्षण नै भएको थिएन ।

विराटनगर–९ की ६२ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएपछि आइतबार बिहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिए ।

वृद्धाको परिवारका १ सदस्य ४५ वर्षीय पुरुषको यसअघि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । उनका २ छोरा र १ छोरीमा पनि कोरोना देखिएको छ । जसमध्ये १ छोरा सम्पर्कविहीन रहेको महानगरपालिकाले जनाएको छ ।

अहिले मृत्यु हुने वृद्धा यसअघि कोरोनाबाट मृत्यु भएका पुरुषकी आमाकी बहिनी हुन् । कोरोना कारण पुरुषको मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर परिवारका सदस्यलाई परीक्षण गर्दा पनि ती वृद्धाको परीक्षण भएको थिएन ।

परिवारले नै उनको बारेमा जानकारी नदिएकाले परीक्षणमा छुटेको वडाध्यक्ष भगतले बताए । वृद्धाको पारिवारिक सम्बन्धका ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

त्यसैगरी शनिबार राति नै विराटनगर–३ का कोरोना संक्रमित व्यक्तिकी आमा ८७ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ ।

छोरालाई आइसोलेनसमा भर्ना गरिएपछि ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार वृद्धाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, उनको रिपोर्ट नआउँदै मृत्यु भएको हो ।

प्रदेश १ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा ओखलढुंगा र सोलुखुम्बु गएर फर्किपछि कोरोना देखिएको थियो ।



ट्रेन्डिङ