रत्ननगरको जयमंगलामा रहेको प्रगति सुकुमबासी बस्ती सिल

रत्ननगरको जयमंगलामा रहेको प्रगति सुकुमबासी बस्ती सिल

रत्ननगर ३० साउन। रत्ननगर–१३ जयमंगलामा रहेको प्रगति सुकुमबासी बस्ती सिल गरिएको छ । सो सुकुमबासी बस्तीका ६३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सिंगो सुकुमबासी बस्ती सहित साविक १३ नम्बर वडा सिल गरिएको हो ।

सो वडाको पूर्वमा बुढीकुलो, पश्चिममा पञ्चकन्या मावि, दक्षिणमा बैरिया मावि र उत्तरमा सुवेदी चोकसम्मको क्षेत्रलाई सिल गरिएको वडाध्यक्ष चित्रबहादुर भण्डारीले जानकारी दिए । कोरोना संक्रमित क्षयरोगले ग्रसित रहेको र परिवारमा ६ जना रहेकाले जोखिम रहेको छ ।

परिवारको सदस्यलाई होम क्वारेन्टाइनमा राखेर बस्ती सहित आसपासका क्षेत्र सिल गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना संक्रमितको उपचारको लागि शुक्रवार नै भरतपुर अस्पतालमा भर्ना गरिएको छ । सुकुमवासी बस्ती र साविक १३ नम्बर वडाको उल्लेखित क्षेत्रमा हिडडुलमा रोक लगाइएको छ ।

यस अघि सौराहाको प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सौराहाका बैंक, वित्तीय संस्था, सहकारी तथा अन्य संघसंस्था बन्द गरिएको थियो ।



ट्रेन्डिङ