भोलीदेखि भरतपुर महानगर क्षेत्रमा निषेधाज्ञा जारी ,अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने

भोलीदेखि भरतपुर महानगर क्षेत्रमा निषेधाज्ञा जारी ,अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने

भरतपुर ३० साउन । संक्रमितको संख्या बढ्दैगएपछि चितवन प्रशासनले भोलिदेखि भरतपुर महानगरपालिका भित्र निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।  चिकित्सक देखि बैंक तथा वित्तिय सस्था हुँदै समुदाय सम्म कोरोना फैलिन सक्ने भन्दै उच्च सर्तकताका लागि महानगर क्षेत्रभित्र निषेधज्ञा गर्ने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा आज भएको छलफलबाट महानगरभित्र कम्तीमा एक हप्तासम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए। निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिनेछ। कलकारखाना सञ्चालनको लागि कारखानाभित्रै बस्नेहरूबाट मात्रै सञ्चालन गर्न पाइने अध्यक्ष पौडेलले जानकारी दिए।


निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ। त्यो पनि स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उनले बताए। यस अघि नै माडी नगरपालिकाले पनि नगरक्षेत्रलाई सुरक्षित राख्न माडी प्रवेशमा निगरानी बढाएको छ । यता पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले भने नगर क्षेत्रभित्र निषेधाज्ञा गर्ने नगर्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।



ट्रेन्डिङ