सभापतिमा म बहादुर हुँ भन्ने भ्रम देखियो : रामचन्द्र पौडेल

सभापतिमा म बहादुर हुँ भन्ने भ्रम देखियो : रामचन्द्र पौडेल

काठमाडौं २८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् ।

सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर सभापतिमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे । बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताए ।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए । उनले भने, “हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै होकि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।”

सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे ।

उनले भने, “यो मिच्ने बानी पर्‍यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानुन तोड्यो भने गृहमन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानुन भनेर बोलेर धाक लगाएर हिंड्नुहुन्थ्यो एक ताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नि भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षति पुर्‍यायो र घायल बनायो ।”

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए ।



ट्रेन्डिङ