भुटानमा पहिलोपटक लकडाउनको घोषणा

भुटानमा पहिलोपटक लकडाउनको घोषणा

चितवन २७ साउन। भुटानले पहिलोपटक लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि भुटानले मंगलबार पहिलोपटक लकडाउनको घोषणा गरेको हो । भुटानमा अहिलेसम्म कोरोना भाइरसका ११३ संक्रमित फेला परेका छन् भने कोरोना भाइरसको कारण कसैको मृत्यु भएको छैन ।

विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मुलुकभर लकडाउनको निर्णय गरेको हो ।

भुटानको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २७ वर्षीया भुटानी महिला कुबेतबाट फर्किएकी थिइन् । उनलाई क्वारेन्टिनमा राखिएको थियो र कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो । यद्यपि सोमबार एक क्लिनिकमा पुनः परीक्षण गर्दा भने उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भुटानको सरकारले सबै संक्रमितको पहिचान गरी उनीहरुलाई आइसोलेट गर्न सकियोस् भन्ने हेतुले अनिश्चितकालीन लकडाउन घोषणा गरिएको बताएको छ ।

सबै विद्यालय, संस्थान, कार्यालयहरु र व्यावसायिक क्षेत्रहरु यो लकडाउनको अवधिमा बन्द रहनेछन् । साथै विद्यार्थीहरुको परीक्षा पनि स्थगित भएको छ ।



ट्रेन्डिङ