नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, निषेधाज्ञा कार्यान्वयन गराउन सेना परिचालन

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, निषेधाज्ञा कार्यान्वयन गराउन सेना परिचालन

नुवाकोट २७ साउन। कोरोनाको सङ्क्रमण थप फैलिएसँगै नुवाकोटमा स्थानीयस्तरमा आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि निषेधाज्ञा लगाइएको छ ।

हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । जिल्लाको विदुर नपा–८ र दुप्चेश्वर गापा–६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो ।

सोमबार साँझ सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको थियो ।



ट्रेन्डिङ