महिला स्वास्थ्यकर्मी कुटपिट गर्ने दुईजना पक्राउ

महिला स्वास्थ्यकर्मी कुटपिट गर्ने दुईजना पक्राउ

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले सोमबार अपराह्‍न नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकीअन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी विमला कुँवरमाथि कुटपिट गरेको आरोप छ । ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ ।”

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आइतबार आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन् । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उनले बताइन् ।  उनले भनिन्, “वृद्धा आमा कान नसुन्‍ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गाली-गलौज गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट छ । अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवैजनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।



ट्रेन्डिङ