कञ्चनपुरमा दम्पती हत्याकाण्डको चारजना आरोपी पक्राउ

कञ्चनपुरमा दम्पती हत्याकाण्डको चारजना आरोपी पक्राउ

कञ्चनपुर २६ साउन । कञ्चनपुरमा दम्पती हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती बालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । हत्या आरोपमा पक्राउ पर्नेमा बेलौरी नगरपालिका–७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रवि राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षत्रीले बताए ।

उनका अनुसार चारै जनाले खाती दम्पतीको योजनावद्ध रूपमा हत्या गरेको खुलेको छ । गत शुक्रबार राति धारिलो हतियार प्रहारबाट बालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमान्‌को उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता देखिएको थिएन ।

अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको छ । छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएकाले प्रकाशले उनीहरूमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको हो ।



ट्रेन्डिङ