नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् – पार्टीभित्र एउटा कुरा, बाहिर अर्कै कुरा

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् – पार्टीभित्र एउटा कुरा, बाहिर अर्कै कुरा

चितवन २६ साउन। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र एउटा कुरा बाहिर अर्को कुरा गर्ने प्रवृत्तिले पार्टीभित्र समस्या पैदा भएको जनाएका छन् ।

पार्टीभित्रको विवादका विषयमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै प्रवक्ता श्रेष्ठले यस्तो प्रवृत्तिले समस्या समाधान गर्न सहयोग नगर्ने बरू जटिल बनाउने बताए ।

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,’ उनले लेखेका छन् ।

यसले पार्टीको समस्या समाधान नगर्ने बरू जटिल बनाउने उनको भनाइ छ । ‘त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं,’ उनले लेखेका छन्, ‘पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।’

प्रवक्ता श्रेष्ठले नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्ष पार्टीको जीवन र चालकशक्ति भएको भन्दै अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले संचालन गर्नाले विचारको परिमार्जन एवं विकास संगठनको व्यवस्थापन, परिचालन र सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुर्याउने जनाएका छन् ।



ट्रेन्डिङ