बुद्ध नेपालमा जन्मेको विषयमा बहस जरुरी छैन : परराष्ट्र मन्त्रालय

बुद्ध नेपालमा जन्मेको विषयमा बहस जरुरी छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं २५ साउन। गौतम बुद्ध भारतमा जन्मेका भन्ने भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ।

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भएको छ। भारतीय विदेशमन्त्रीको उक्त अभिव्यक्तिबारे राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ।

मन्त्रालयले ऐतिहासिक र पुरातात्विक प्रमाणले गौतम बुद्ध नेपालमा जन्मेको पुष्टि गरेको भन्दै यसमा कुनै द्विविधा नरहेको उल्लेख गरेको छ। ‘ऐतिहासिक र पुरातत्विक प्रमाणहरूबाट यो एउटा स्थापित सत्य र स्वीकार भएको छ कि गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्। लुम्बिनी गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्मको उद्गमस्थल पनि हो। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल शान्ति भूमि भएको र बुद्ध नेपालमै जन्मेको उल्लेख गरेको विज्ञप्तिमा भनिएको छ। बुद्ध धर्म नेपालबाट विश्वभर फैलिएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। बुद्ध नेपालमा जन्मिएको विषय बहसको विषय हुन नसक्ने पनि परराष्ट्रले भनेको छ।

 



ट्रेन्डिङ