अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज २५ साउन। अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा ती महिलालाई उपचारका लागि आफन्तले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए ।

आधा दर्जन अस्पतालको ढोका ढकढकाउँदा समेत कुनै पनि अस्पतालले विरामी भर्ना गर्न नमानेपछि अन्त्यमा शनिबार बिहान २ बजेतिर नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताउँछन् ।

शनिबार वीरगञ्ज राधेमाईका ७५ वर्षीय वृद्धको पनि उपचार नपाएरै मृत्यु भएको स्थानीयले बताएका छन् ।



ट्रेन्डिङ