बर्दियामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी

बर्दियामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी

गुलरिया २४ साउन। बर्दियामा समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ ।

निषेधित अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यकबाहेक कुनैपनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन। अनुमति प्राप्त सवारी साधन, झण्डावाल सवारी, निलो कूटनीतिक प्लेटका सवारी, लामो दूरीका मालवाहक सवारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय बाहेकका सबै निजी, सरकारी तथा सार्वजनिक सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ ।

सुरक्षा, स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स तथा शव बोक्ने गाडी, दमकल, औषधि, तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा निषेध गरिएको उनले जानकारी दिए । अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कने व्यक्तिले न्युनतम भौतिक दूरीसँगै मास्क लगायत आधारभूत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ । निषेधाज्ञा उल्लंघन गरे कारवाही हुन्छ ।



ट्रेन्डिङ