प्रहरीमा काेराेना देखिएपछि हेटौंडाको प्रहरी चाैकी नै सिल

प्रहरीमा काेराेना देखिएपछि हेटौंडाको प्रहरी चाैकी नै सिल

हेटौंडा २२ साउन ।हेटौँडामा कार्यरत १ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका-१७ स्थित प्रहरी चौकी अनिश्चितकालको लागि सिल गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । चौकीमा कार्यरत मोरङ विराटनगर घर भएका ३१ वर्षीय प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई हेटौँडा आइसोलेसनमा भर्ना गरिएको छ ।

मकवानपुरमा कार्यरत प्रहरीलाई पहिलो पटक कोरोना देखिएको रानाले बताए । चौकीमा रहेका ६ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको रानाले बताए । ‘चौकी सिल गरिएको छ । ६ जना प्रहरीलाई चौकीभित्रै क्वारेन्टाइनमा राखेका छौँ’, रानाले भने । उनीहरूको कोरोना परीक्षणको लागि हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशलामा स्वाब पठाइसकिएको रानाले जानकारी दिए ।

संक्रमित प्रहरीको कुनै ट्राभल हिस्ट्री नरहेको रानाले जानकारी दिए । ‘उनी लामो समयदेखि घर पनि गएका थिएनन् । हटिया क्षेत्रमा ड्युटीमा खटिएका थिए’, रानाले भने । रानाका अनुसार संक्रमित प्रहरीसहित क्वारेन्टाइनमा बसेका प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ नआएसम्म सिल कायम राखिने जानकारी दिए ।

अब हटिया क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी इलाका प्रहरी कार्यालय, पशुपतिनगरले पाएको छ । पशुपतिनगरबाट पूर्वतर्फ रहेको हटिया करिब १५ किलो मिटरको दूरीमा पर्छ ।



ट्रेन्डिङ