शनिबारदेखि रौतहटमा निषेधाज्ञा

शनिबारदेखि रौतहटमा निषेधाज्ञा

रौतहट २१ साउन। शनिबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

जिल्लाको गौर, राजदेवी, चन्द्रपुर लगायतका स्थानीय तहमा समुदायका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएका कारण समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले बताए ।

भारत लगायतका अन्य मुलुकबाट हुने सबै प्रकारको आवगमनलाई रोक लगाएको र सीमा नाकाहरु पूर्ण रुपमा सिल हुने घिमिरेले बताए । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई ऐन बमोजिम कारबाही हुने समेत उनले बताए ।

मंगलबार रौतहटमा समुदायका ६ जनामा संक्रमण पुष्टि भएको थियो ।



ट्रेन्डिङ