स्रोत नखुलेको १६ लाख रुपैयाँसहित १ जना पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित १ जना पक्राउ

कपिलस्तु २१ साउन । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु मायादेवी गाउँपालिका( १ पकडीका ३६ वर्षीय विनोद सोनार रहेका छन् । उनलाई १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी-४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट १ हजार दरका १र१ सय थानका १२ गड्डी र ५ सय दरका १/१ सय थानका आठ गड्डी बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोबार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशंका गरिएको छ ।

यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्र्याक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्र्याक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिए ।



ट्रेन्डिङ