प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ

वीरगञ्ज १८ साउन। पर्सामा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराका पत्रकार उमेश दुवेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बाराको फेटा गाउँपालिका फुलवरिया निवासी टिभी टुडेका सम्वाददाता दुवेलाई ४ दिनअघि पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद पनि लिएको छ ।

साउन १४ गते जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च) को टोलीले वीरगञ्जस्थित माई टिभीको कार्यालय अगाडिबाट दुवेलाई नियन्त्रणमा लिएको थियो । पत्रकार दुबे टिभी टुडे, माई टिभी, जनगुनासो दैनिक, आर्थिक राष्ट्रिय दैनिक र न्यु सन्देश दैनिकमा आवद्ध छन् ।

पत्रकार दुवेले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त र प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरकै सामुन्ने वीरगञ्जको पावर हाउस चोकमा ड्युटीमा खटेका प्रहरीसँग विवाद गरेको आरोप लागेको छ ।

बुधबार नै पत्रकार दुवेले सामजिक सञ्जाल फेसबुकमा प्रहरी प्रमुख एसपी पन्तलाई लक्षित गरेर दुईवटा स्टाटस लेखेका छन् । सोही विषयलाई लिएर पर्सा प्रहरीको क्राइम ब्रान्चको टोलीले उनलाई नियन्त्रणमा लिएको दुबे पक्षको आरोप छ ।

 



ट्रेन्डिङ