भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

विराटनगर १७ साउन। भ्रष्टाचार विरोधी छवि बनाएका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखका रुपमा रहेका सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् ।
कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि आक्रमण भएको हो । घटना शुक्रबार दिउँसो भएको बताइएको छ । आज मात्र घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय विराटनगरमा अहिले सोही विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
सञ्जेलमाथि टेबुलमाथि राखिएको विभिन्न सामानले प्रहार भएको प्रहरीले जनाएको छ । दुवैजना कार्यालयका करार कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न भागमा चोट लागेको छ ।