सन्दीप लामिछाने सिपिएल खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने

चितवन १४ साउन। वेस्ट इन्डिजमा हुन लागेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप लामिछाने बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।
कोरोना भाइरसका कारण हवाइ सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्ने अन्याेल रहँदै आएको थियो। तर लामो प्रक्रियापछि सन्दीपले कोरियन चार्टर फ्लाइटबाट सिपिएल खेल्न जाने भएका हुन्। उनी अमेरिका हुँदै वेस्ट इन्डिज अगस्ट १ तारिखमा पुग्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्।
वेस्ट इन्डिज गएपछि सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्ने छन्। त्यसतर्फ प्रस्थान गर्नका लागि सन्दीपले पिसीआर परिक्षण गरिसकेका छन्।सन्दीपले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनी ‘जमैका तलावाज’ क्लबमा झण्डै एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए।