कक्षा ११ मा जीपीएको आधारमा विषय छनोट गर्नुपर्ने

कक्षा ११ मा जीपीएको आधारमा विषय छनोट गर्नुपर्ने

काठमाण्डौं १४ साउन । पाठ्यक्रम विकास केन्द्रले एसईईपछि कक्षा ११ मा कति जीपीए ल्याएका कुन विषय पढ्ने भन्ने आधार बनाउन सुरु गरेको छ । जीपीएको आधारमा विद्यार्थीले विषय छनोट गर्न पाउने छन् । पहिले यति जीपीए ल्याएकाले यो संकाय पढ्ने भन्ने थियो । तर, अहिले संकाय नभएर एकल पथीय भएकाले पाठ्यक्रमले नयाँ आधार बनाउन लागेको हो ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले दुई वटा आधारमा जीपीए निर्धारण गरिने बताए । ‘दुईवटा आधारमा जीपीए निर्धारण हुन्छ । विद्यार्थीले विषयगतरुपमा ल्याएको ग्रेड र टोटल जीपीएको आधारमा कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्धारण गछौं,’ उनले भने ।

यो वर्ष कक्षा ११ र १२ पनि विद्यालय शिक्षा नै भएकाले विद्यार्थीले सबै विषय पढ्न सक्ने गरी जीपीए निर्धारण गर्न लागिएको हो ।सबै क्षेत्रमा जाने गरि कुनै रोकावट नहुनेगरि जीपीए निर्धाराण गरिने बताए । यसअघि कम जीपीए ल्याएका विद्यार्थीले साइन्स म्यानेजमेन्ट लगायतका विषय पढ्न पाउने थिएनन् ।

कम जीपीए ल्याएकाले मानविकी र शिक्षाका विषय पढ्ने र धेरै नम्बर ल्याएकाले नपढ्ने अवस्था आएको थियो । धेरै नम्बर ल्याउनेले पनि मानविकी एजुकेसनका विषय पढ्न प्रेरित हुने गरी जीपीए बनाउन लागिएको छ ।

जीपीएको निर्धारण शिक्षा मन्त्रालयबाट स्वीकृत भएपछि सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । ‘शिक्षा मन्त्रालयबाट स्वीकृत भएपछि र एसईईको नतिजा आएसँगै कति जीपीए ल्याएकाले कुन विषय पढ्ने हो त्यो पनि सार्वजनिक गछौं,’ उनले भने । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको छ । नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीले यो वर्ष नयाँ पाठ्यपुस्तक पढ्ने छन् ।

अनिवार्य ३ वटा विषय छन् भने ४ वटा समूहमा ७९ वटा ऐच्छिक विषय छन् । ती ७९ वटा ऐच्छिक विषयबाट ३ वटा विषय विद्यार्थीले छान्नु पर्ने हुन्छ । चौथो समूहबाट विद्यार्थीले पढ्न चाहेमा थप अर्को विषय पढ्न पाउने छन् ।



ट्रेन्डिङ