सेनाले कुटेर मृत्युभएको भनिएको युवाको शव टिचिङ हस्पिटलमा पोष्टमार्टम हुने

सेनाले कुटेर मृत्युभएको भनिएको युवाको शव टिचिङ हस्पिटलमा पोष्टमार्टम हुने

चितवन ११ साउन । सेनाको कुटाईवाट मृत्यु भएको भनिएको युवाको शवको पोष्टमार्टम काठमाण्डौंको टिचिङ हस्पिटलमा हुने भएको छ । चितवन भन्दा काठमाण्डौंमा पोष्टमार्टम गरिए अझै विश्वासिलो हुने भन्दै चितवन प्रशासनले नै काठमाण्डौं लगेर पोष्टमार्टम गर्न पीडित पक्षलाई सुझाव दिएको थियो । चितवन प्रशासनकै सुझाव बमोजिम मृतकका बुबा, मृतक दाई पर्ने र अन्य छिमेकी दुईजना गरी चारजनाले पोष्टमार्टमका लागि शब बोकेर काठमाण्डौं लागेका छन् ।
काठमाण्डौंको टिचिङ हस्पिटलमा भोली विहान पोष्टमार्टम हुने कुरा छ पोष्टमार्टमाका लागि सँगै गएका रुपेश अर्यालय खत्रीले टेलिफोनमा भने – ‘ हामी आधाबाटो बुकिसकेका छौं । यसअघि चितवनमै पोष्टमार्टम गर्नका लागि सबै प्रकृया पुरा भएपनि पीडित परिवारको सहमति विना पोष्टमार्टम हुन सकेको थिएन ।

आइतवार चितवन प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टमका लागि काठमाण्डौं लैजान मृतकका परिवार राजिभएका हुन । पोष्टमार्टम नभए सम्म दोषिलाई कार्वाहीको दायरामा ल्याउन नसक्ने भनेपछि मृतकका परिवारले पोष्टमार्टमका लागि सहमति जनाएको छिमेकी खत्रीले बताए । पोष्टमार्टमको विकल्प नभएको भनेपछि दोषिलाई कार्वाही गर्न प्रशासनलाई सहयोग पुग्ने हिसावले सहमति जनाएर काठमाण्डौं जाँदैछौं उनले भने ।
भोली विहान पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्ट नआए सम्म आफुहरुले शब नबुझ्ने अडानलाई भने यथावत नै राख्ने मृतकका बुबाले बताए । कुटेर मारेकोमा कुनै शंका छैन मृतका बुबाले भने ‘ हामीलाई छलगर्नलाई नै काठमाण्डौं पठाएका हुन कि भन्ने पनि थोरै डर लागि रहेको छ ।

साउन १ गते निकुञ्ज भित्रको खोलामा माछा मार्न गएको बेलामा सेनाको कुटाइबाट राप्ती नगरपालिका–२ गड्यौलीका राजकुमार चेपाङसहित ५ जना घाइते भएका थिए । राजकुमारको सात दिन पछि भरतपुर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि मात्र परिवारजन र अन्य घाइतेहरुले सेनाबाट कुटाई खाएको सार्वजनिक गरेका थिए । आइतबार भएको वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमता अनुसारको राजगारी दिने सहमति भएको घटनाका घाइते सन्तलाल प्रजाले बताए ।

चितवन प्रहरीका प्रबक्त डीएसपी सूर्य थापाले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं लैजान लागिएको बताए । यो घटनाको विषयमा पत्ता लगाउने एक्सपर्ट चितवनमा नरहेको भन्ने कुरा अयो । त्यसैले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरिँदैछ”, उनले भने । मृतकका परिवार, प्रशासन, निकुञ्जबीचको सहमतिबारे जानकारी नभएको उनले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

 



ट्रेन्डिङ