नारायणगढ-मुग्लिङ सडक खण्ड एकतर्फी संचालनमा आयाे

काठमाडौं ७ साउन । अविरल वर्षापछि मंगलबार राति ठूलो पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
मंगलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७:४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८:४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो ।
सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो ।
पहिरो बुधबार बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।