विपदमा परेर मृत्यु भएको परिवारलाई दुई लाख राहत दिने सरकारकाे याेजना

विपदमा परेर मृत्यु भएको परिवारलाई दुई लाख राहत दिने सरकारकाे याेजना

काठमाडौं ७ साउन । सरकारले विपद्मा परेर मृत्यु भएकाको परिवारलाई दुईलाख राहत दिने भएको छ ।

विपद्मा परी कुनै परिवारमा एकजनाको मृत्यु भएमा २ लाख, सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राहत एकद्वार नीतिमार्फत उपलब्ध गराइनेछ । तर एकाघरका परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत उपलब्ध गराइने छैन ।”

विपद्बाट घर, बहाल, आवास नष्ट भएमा खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायसमेत नोक्साी भएमा तत्काल गुजाराको लागि प्रतिपरिवार पाँचजनासम्म सदस्य भए १५ हजार र पाँजजनाभन्दा बढी सदस्य भएमा २० हजार उपलब्ध गराउने निर्णय पनि भएको छ । विपद्बाट बसोबास गरिरहेको घर पूर्णरुपमा नष्ट नभएतापनि सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरि प्रति परिवार एकलाखसम्म उपलब्ध गराउने निर्णय पनि भएको छ ।

“तर मनसुनको अवधिमा बाढी, पहिरो र डुबान तथा कटानलगायतका कारणबाट घरबारबिहीन भएका परिवारका लागि २०७२ सालको भूकम्प पीडितलाई प्रदान गरिएको विधि र प्रक्रियाबाट सहरी विकास मन्त्रालयले आवास निर्माण गर्ने व्यवस्था मिलाउने,” निर्णयमा भनिएको छ ।



ट्रेन्डिङ